FAQs Complain Problems

Blogs

प्रेस विज्ञप्ति

१. तिलोत्तमा नगरपालिकामा २०७५ साउन १ गतेदेखि कार्यान्वयनको तयारीमा रहेको एकीकृत सम्पत्ति करका सन्र्दभमा केही राजनीतिक दल, व्यक्ति तथा समूहबाट फैलाइएका अफवाहप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. सर्वप्रथम, नेपालमा अन्य करका अतिरिक्त आर्थिक वर्ष २०५६÷५७ देखि नगरपालिकाहरुमा एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आएको र वर्तमान संविधान र कानुनी व्यवस्था अन्तरगत यो करलाई गाउँपालिकासम्म पुर्याइएको सबैलाई अवगत भएकैं विषय हो । हाम्रा छिमेकी बुटवल उप–महानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरिरहेका छन् । रुपन्देहीलगायत मुलुकका अन्य नगरपालिका र गाउँपालिकाहरुले समेत एकीकृत सम्पत्ति करको गृहकार्य गरिरहेका छन् । त्यसैले एकीकृत सम्पत्ति कर तिलोत्तमा नगरपालिकाले मात्र कार्यान्वयन गर्न नथालेको व्यहोरा सम्पूर्ण नगरबासीमा सबैमा अनुरोध छ ।

३. स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्थानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहलाई २०७४ चैत्र १९ गते उपलब्ध गराएको ‘एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि’ को ढाँचामा यस नगरपालिकाले कर कार्यान्वयनको आवश्यक गृहकार्य गरिरहेको जानकारी सम्पूर्ण नगरबासीमा गराउन चाहान्छौं ।

४. कार्यपालिकाले गठन गरेको सम्पत्ति मूल्यांकन समितिले एकीकृत सम्पत्ति करका सन्दर्भमा सल्लाह–सुझाव लिन प्रमुख राजनीतिक दल, विज्ञ तथा सरोकारवालाहरुसँग निरन्तर छलफल गरिरहेको छ । वडा समितिहरुले समेत सम्पत्ति मूल्यांकनको आधारका सन्दर्भमा बडाबासीहरुबाट सल्लाह–सुझाव लिइरहेका छन् । प्रचलित कानुन तथा मन्त्रालयले उपलब्ध गराएको नमूना कार्यविधिअनुसार एकीकृत सम्पत्ति कर प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन यस प्रकारका छलफल तथा अन्तरक्रिया भएका हुन् ।

५. सम्पत्ति मूल्यांकनलगायतका विभिन्न विषयहरुका छलफल भैरहे पनि त्यसको प्रक्रिया, कर निर्धारण र असुली, कर छुट, दण्ड र पुरस्कार जस्ता एकीकृत सम्पत्ति कर कार्यान्वयनसँग सम्बन्धित विषयमा अन्तिम निर्णय भैनसकेको व्यहोरा नगरबासी महानुभावहरुलाई जानकारी गराउन चाहान्छौं ।

६. एकीकृत सम्पत्ति कर कार्यान्वयनका सन्दर्भमा नगरकार्यपालिकाले गरेको अन्तिम निर्णय आमनगरबासी महानुभवहरुलाई जनप्रतिनिधिहरु, नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय र मातहतका निकायमार्फत् जानकारी गराइने व्यहोरा सम्बद्ध सबैमा अनुरोध छ ।

७. नगरकार्यपालिकाले अन्तिम टुंगो लगाइनसकेको एकीकृत सम्पत्ति करको विषयलाई लिएर कतिपय राजनीतिक दल, समूह तथा व्यक्तिबाट व्यक्त सार्वजनिक अभिव्यक्ति र प्रचारबाजीमा कुनै सत्यता नरहेकाले त्यसको पछि नलाग्न आमनगरबासीलाई अपिल गर्दछौं ।

८. एकीकृत सम्पत्ति करका सर्वमान्य सिद्धान्त, एकीकृत सम्पत्ति कर लागू गरेका नगरपालिकाका असल अभ्यास, विज्ञहरुको राय, परामर्शका आधारमा अत्यन्त वैज्ञानिक, सामाजिक न्यायको सिद्धान्तका आधारमा कर लगाइने हुँदा आमनगरबासीहरुलाई यसप्रति ढुक्क रहन अनुरोध गर्दछौं । नगरबासीलाई बोझ नपर्ने गरी एकीकृत सम्पत्ति कर कार्यान्वयन गर्ने विषयमा हामीहरु अत्यन्त सचेत छौं । अफवाह फैलाइए जस्तो हामीहरु नगरबासीलाई ‘ढाँड सेक्ने गरी’ कर लगाउने तयारीमा नरहेको स्पष्ट पार्न चाहान्छौं ।

९. नगरबासीबाट उठाइने कर नगरकैं भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिजस्ता विभिन्न क्षेत्रको विकासमा खर्चिने भएकाले करका विषयमा भ्रम नछर्न सम्बद्ध सबैको ध्याकर्षण गराउँदै एकीकृत सम्पत्ति करका सन्दर्भमा हालसम्म भए÷गरेका कामका सम्बन्धमा थप जानकारी चाहिएमा नगरकार्यपालिकाको कार्यालय वा वडा कार्यालयहरुमा सम्पर्क राख्नुहुन सबै नगरबासीलाई अनुरोध गर्दछौं ।

बासुदेव घिमिरे
नगर प्रमुख

Slider: 
0